तनहुँको लुकेको गहना (रक गार्डेन) घाङ्च ल्हुम:
तनहुँको लुकेको गहना (रक गार्डेन) घाङ्च ल्हुम:
१. परिचय
नेपाल प्राकृतिक रूपमा विविध, जैविक सम्पदाको धनि, सांस्कृतिक समृद्धि र धार्मिक सहिष्णुताको एउटा जीवन्त सङ्ग्रहालय हो। यहाँका कुना–कन्दरामा यस्ता अनेकौं आश्चर्य र गन्तव्यहरू लुकेर रहेका छन्, जसले मानिसको मनलाई मन्त्रमुग्ध बनाउँछन। यस्तै मध्येको एउटा अलौकिक, मनमोहक र अचम्मको पर्यटकीय गन्तव्य हो— तनहुँ जिल्लाको भिमाद नगरपालिका वडा नं.९, मोहरिया मा अवस्थित पथ्थरको बगैंचा (Rock Garden) ।
स्थानीय मगर भाषामा 'घाङ्च ल्हुम' (नेपालीमा 'अग्लो ढुङ्गा') भनिने यस स्थानले प्रकृतिप्रेमी, पर्यटक र अनुसन्धानकर्ताहरूलाई आजकल निकै लोभ्याइरहेको छ। हरियालीले छाएक डाँडाहरूको बिच चुचुरोमा अवस्थित यि विशाल र अनौठा प्राकृतिक ढुङ्गाका आकृतिहरूले यस ठाउँलाई कुनै काल्पनिक संसार वा कलात्मक ढुङ्गे महल जस्तो देखाइ रहेको छ।
२. अवस्थिति र ढुङ्गाको कलात्मक बगैँचा
यो तनहुँ जिल्ला आफैंमा प्राकृतिक सौन्दर्य र ऐतिहासिक धरोहरले भरिपूर्ण ठाउँ हो। ऐतिहासिक भिमाद बजारबाट किरव ६ किलोमिटरको दूरीमा मोहरिया गाउँको माथिल्लो भेगमा यो रक गार्डेन अवस्थित छ। जब माजनिसहरू त्यहा पुगछन तब प्रकृतिले कति फुर्सदमा यस धर्तीलाई सजाएको रहेछ भनेर सोचमग्न हुन्छन।
यहाँ रहेका ठुला, ठुला ढुङ्गाहरू कुनै ख्यातिप्राप्त कालिगढले कुँदेर बनाएका मूर्तिहरू जस्ता लाग्छन। हजारौँ बर्ष देखि घाम र पानीको प्रभावका कारण यी चट्टानहरूले यस्तो अनुपम रूप धारण गरेका हुन। कतै अग्ला, अग्ला स्तम्भ जस्ता छन त कतै प्राकृतिक किल्लाका पर्खाल जस्ता। त्यहा पुग्ने जोकोहिलाइ पनि यी चट्टानहरूका बीचमा हिँड्दा प्राचीन ढुङ्गे युगको झझल्को आउँछ।
तस्वीरमा देखिए जस्तै, यहाँ ढुङ्गाकै बीचमा चराचुरुङ्गीहरू घाम, पानीबाट सुरक्षित रहुन भनि गुँडहरू बनाइएका र नेपालको राष्ट्रिय झण्डा फहराएर यसलाई थप आकर्षक बनाइएको छ।
३. पोखराबाट रक गार्डेन पुग्ने यात्रा मार्ग (Route)
बिशव बजारमा सहजले परिचित पर्यटकीय नगरी पोखराबाट तनहुँको मोहरियामा रहेको रक गार्डेन पुग्नका लागि सडक मार्ग निकै सहज छ। पोखराबाट यस स्थानसम्म पुग्न करिब ४० किलोमिटरको सडक दूरीमा पार गर्नु पर्दछ। यस स्थामा जाने बाटोको विस्तृत विवरण यस प्रकार छ।
- पहिलो चरण (पोखरा देखि भिमादचोक): पोखरा पृथ्वीचोकबाट पृथ्वी राजमार्ग (NH03) समातेर तनहुँको शुक्लागण्डकीको दुलेगौँडा बजार तर्फ लाग्नुपर्छ। यो खण्ड करिब २४ किलोमिटरको पिच सडक हो।
- द्रोश्रो चरण (भिमादचोक देखि भिमाद बजार): दुलेगौँडा वा खैरेनीटारको बिचबाट दक्षिणतर्फ लाग्ने मोटर बाटो समातेर तनहुँको अर्को व्यापारिक केन्द्र भिमाद बजार पुगिन्छ।
- तेश्रो चरण (भिमाद बजार देखि मोहरिया): भिमाद बजारबाट थुम्का–कोरीखा–बाहुनभञ्ज्याङ सडक वा भिमाद–भानुमती ग्रामीण सडक हुँदै भिमाद नगरपालिका वडा नं. ९ को मोहरिया गाउँतर्फ उकालो लाग्नुपर्छ।
- चौथो चरण (रक गार्डेन प्रवेश): मोहरिया गाउँबाट २० मिनेटको यात्रापछि हरियो डाँडाको चुचुरोमा अवस्थित आकर्षक रक गार्डेन (घाङ्च ल्हुम) पुगिन्छ।
निजी सवारी साधन भएमा पोखराबाट प्रस्थान गरेको करिब १ देखि १.१५ घण्टा भित्र सजिलै यो सुन्दर गन्तव्यमा पुग्न सकिन्छ।
४. मोहरिया (मगर गाँउ) र रक गार्डेनको पर्यटकीय सम्भावनाहरू
- पर्या–पर्यटन (Eco-Tourism): यहाँको रैथाने वनस्पति, जङ्गली फूलहरू र प्राकृतिक भू–बनोटलाई असर नपारी पर्यावरण–अनुकूल पर्यटनको विकास गर्न सकिन्छ।
- सांस्कृतिक पर्यटन (Cultural Tourism) र होमस्टे: मगर समुदायको बाहुल्यता भएकाले 'मगर होमस्टे' को ठूलो सम्भावना छ। पर्यटकलाई परम्परागत नाचगान देखाउँदै स्थानीय जैबिक परिकार चखाउन सकिन्छ।
- भू–गर्भशास्त्र र शैक्षिक अनुसन्धान: यहाँका अनौठा चट्टानहरूको बनोट र आयु अध्ययन गर्न विद्यार्थी तथा अनुसन्धानकर्ताहरूका लागि खुला प्रयोगशाला बन्न सक्छ।
- साहसिक खेल र हाइकिङ: भिमाद बजारबाट मोहरिया रक गार्डेनसम्म पदयात्रा मार्ग विकास गर्न सकिन्छ। साथै, 'रक क्लाइम्बिङ' को सम्भावना पनि छ।
- फोटोग्राफी र फिल्म सुटिङ: प्राकृतिक सौन्दर्यका कारण यो क्षेत्र म्युजिक भिडियो, चलचित्र वा सामाजिक सञ्जाल सामग्रीका लागि आकर्षणको केन्द्र बन्न सक्छ।
५. सांस्कृतिक गौरव र स्थानीय जीवनशैली
घाङ्च ल्हुम केवल एउटा पर्यटकीय स्थल मात्र होइन, यो त स्थानीय मगर समुदायको पहिचान र इतिहाससँग पनि जोडिएको छ। गाउँलेहरूको सरल जीवनशैली, मौलिक भाषा र पाहुनालाई सत्कार गर्ने संस्कारले यहाँ आउने जोकोहीको यात्रालाई अविस्मरणीय बनाउँछ।
केही वर्ष अघिसम्म यो ठाउँ स्थानीय गोठाला र घाँस–दाउरा गर्नेहरूका लागि मात्र सीमित थियो। तर सामाजिक सञ्जालको बढ्दो प्रभाव र स्थानीय युवाहरूको सक्रियताका कारण यो ढुङ्गाको बगैँचा भाइरल बन्यो। यसलाई थप प्रचारप्रसार गर्न सकेमा बिश्वबाट पोखरा आउने पर्यटकको एक दिनको बसाइ यस स्थानमा हुनेमा कुनै दुबिधा छैन।
६. चुनौती, संरक्षण र आगामी बाटो
पर्यटकीय क्षेत्रको विकाससँगै मौलिकता जोगाउनु ठूलो चुनौती हो। मोहरिया रक गार्डेनमा पनि पर्यटक बढेसँगै फोहोरमैला व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नुपर्ने आवश्यकता देखिएको छ। धातु तथा प्लाष्टिकजन्य फोहोर नियन्त्रण गर्न स्थानीय प्रशासनले कडा नियम बनाउनुपर्छ।
साथै, भिमाद बजारबाट मोहरियासम्म पुग्ने ग्रामीण सडकलाई व्यवस्थित गरि बाह्रै महिना चल्ने पक्की सडक बनाउन सके बाह्य पर्यटकलाई पनि आकर्षित गर्न सकिन्छ।
ढुङ्गाको यो बगैचा ,अति सुन्दर प्रकृतिको रचना
ReplyDelete