गरिबको झुपडीदेखि डिजिटल युगसम्म: लघुवित्त नीतिको पुनरावलोकन
गरिबको झुपडीदेखि डिजिटल युगसम्म: लघुवित्त नीतिको पुनरावलोकन नेपाली लघुवित्तको भावी मार्गचित्र १. परिचय: हिजोको नीतिगत लक्ष्य र आजको यथार्थ वि.सं. २०६४ सालमा नेपाल सरकारले राष्ट्रिय लघुवित्त नीति, २०६४ जारी गरेको थियो। उक्त नीतिको मूल उद्देश्य वित्तीय सेवाबाट वञ्चित विपन्न, सीमान्तकृत तथा ग्रामीण समुदायलाई औपचारिक वित्तीय सेवाको पहुँच प्रदान गर्नु थियो। विशेषगरी आर्थिक अवसरबाट पछाडि परेका महिला, साना उद्यमी तथा न्यून आय भएका परिवारलाई वित्तीय रूपमा सशक्त बनाउने उद्देश्यले नेपाल सरकारबाट नीति तर्जुमा गरिएको थियो। सामूहिक जमानी, पारस्परिक विश्वास र बिनाधितो कर्जाको अवधारणामा आधारित लघुवित्त प्रणालीले नेपालको ग्रामीण अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्यायो। लाखौँ नागरिक वित्तीय सेवाको दायरामा आए। बचत गर्ने संस्कृतिको विकास हुनुको साथै महिला सहभागिता बढ्यो। साना उद्यम र स्वरोजगारका अवसर विस्तार सहित वित्तीय समावेशीकरणलाई स्थानीय तहसम्म पुर्याउन लघुवित्त क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्यायो। ...