नेपालका लघुवित्त वित्तीय संस्थाहरू: वर्तमान संकट, चुनौती र दिगो समाधानका उपायहरू
१. लघुवित्तको उदेश्यः नेपालको ग्रामीण क्षेत्रका जनताको आर्थिक विकास, गरिबी निवारण र वित्तीय समावेशीकरण (Financial Inclusion) मा नेपालमा सञ्चालित लघुवित्त वित्तीय संस्थाहरू (Microfinance Financial Institutions) ले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका छन्। नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त यी संस्थाहरूको मुख्य उद्देश्य समग्र बैंक तथा वित्तीय संस्थाहरूको पहुँच नपुगेका विपन्न तथा न्यून आय भएका महिला र भौगोलिक रूपमा दुर्गम क्षेत्रका जनताहरूलाई वित्तीय सेवा प्रदान गर्नु हो। लघुवित्तहरू खास गरी ग्रामीण महिलाहरूलाई सामूहिक जमानी राखेर विनाधितो साना, साना व्यवसाय तथा उद्यम गर्नका लागि कर्जा प्रवाह गरी उनीहरूलाई उद्यमशील बनाउँदै स्वरोजगारी सिर्जना गर्न र परम्परागत प्रणालीको चर्को आर्थिक शोषणबाट मुक्त गराउन केही वर्ष अघिसम्म निकै सफल मानिएको थियो। तर, केही वर्षयता देखि तीव्र बजार प्रतिस्पर्धा, संस्थागत सुशासनमा कमी, सदस्यहरूको बहु-बैंकिङ (Multi-banking) प्रवृत्ति र विश्व अर्थतन्त्रमा आएको आर्थिक शिथिलताका कारण यो क्षेत्र गम्भीर संकटको भुमरीमा फसेको छ। केही वर्ष अ...