सपनाको आकाश र पसिनाको धरातल:
सपनाको आकाश र पसिनाको धरातल: (एक नेपालीको अमेरिकी कथा)
हामिले सानैदेखि गाउँघरका डहर र शहरका गल्लीहरूमा एउटै कुरा सुनिरह्योै"अमेरिका ! त्यो त सपनाको देश हो, जहाँ पैसा रुखमै फल्छ, जहाँ दुःखको नामोनिसान हुँदैन।" पोखराको एउटा मध्यमवर्गीय परिवारमा हुर्किएको गणेशको आँखामा
पनि त्यही 'अमेरिकी सपना' को रंगिन बीउ रोपिएको थियो। जब उसको हातमा अमेरिकाको भिसा लाग्यो, तब उसलाई लाग्यो कि उसले संसारकै सबैभन्दा ठूलो युद्ध जितेको छु। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा आमाको आँखाबाट खसेका आँसु पुछ्दै र बुबाको गह्रुँगो आशिर्वाद थाप्दै उसले भन्यो, "आमा, चिन्ता नगर्नु न, अब हाम्रा दुःखका दिन सकिए। म मेरो सपनाको देश जाँदैछु।"तर, जब जहाज न्यूयोर्कको जोन एफ. केनेडी विमानस्थलमा अवतरण भयो, बाहिरको चिसो हावा र गगनचुम्बी भवनहरूको अपरिचित भिडले उसलाई स्वागत गर्यो। त्यो चमकधमक र उज्यालो शहरको भिडमा ऊ कता-कता आफै हराएको महसुस करना थाल्यो। सुरुका केही हप्ता त उसलाई सबै कुरा एकादेशको कथा जस्तै लाग्यो। तर, जब खल्तीका डलर बिस्तारै सकिदै गए, तब मात्र गणेशले बुझ्यो— अमेरिका सपनाको देश तो हो, तर यहाँ सपना देख्नका लागि पनि आँखा होइन, पसिना बगाउनुपर्छ।
पृथ्बिनारायण क्याम्पसबाट स्नातक सकेको गणेशले पहिलो काम एउटा ग्यास स्टेशन र रात्रिकालीन रेष्टुरेन्टमा भाँडा माझ्ने पायो। आफ्नो घरमा कहिल्यै चम्चा पनि नमाझेका ती हातहरू जब रातभरि चिसो पानी र साबुनको फिँजमा डुब्थे, तब उसको मन अमिलो भएर आउँथ्यो। मध्यरातमा काम सकेर लखतरान हुँदै आफ्नो सानो र चिसो कोठामा फर्कँदा, झ्यालबाट देखिने न्यूयोर्कको बत्ती बलिरहेको आकाशलाई हेरेर ऊ मनमनै रुन्थ्यो। आमाले पकाएको तातो खाना, बुबाको स्नेह र साथीभाइको त्यो न्यानोपन सम्झँदा उसको छाती चिरिएर आउँथ्यो। "के म यही भाँडा माझ्न र दुःख पाउन यति टाढा आएको हुँ त?" यो प्रश्नले उसलाई दिनरात पिरोल्थ्यो।
ऊ दिनमा १६ घण्टासम्म काम गर्थ्यो। कहिले स्टोरको काउन्टरमा, कहिले ग्यास स्टेशनमा, त कहिले उबर चालक (नेपालको पठाउ वा इनड्राभ जस्तो) बनेर। शरीर थाकेर लखतरान हुन्थ्यो, तर मनमा एउटा दृढ संकल्प थियो। उसले बुझिसकेको थियो कि यो संघर्ष उसको सजाय होइन, बल्कि उसको सुनौलो भविष्यको जग हो।
बिस्तारै समय बित्तै गए, कामको अनुभव र कठोर मिहिनेतका कारण गणेशले एउटा सूचना प्रविधि (IT) कम्पनीमा इन्ट्री-लेभलको काम पायो। उसले कामसँगै आफ्नो पढाइ र सीपलाई पनि निखार्दै लग्यो। नेपालीहरूको एउटा मुख्य विशेषता भनेकै इमानदारिता र कडा परिश्रम हो, र गणेशले पनि त्यही पहिचानलाई कायम राख्यो। उसको मेहनत र कामप्रतिको लगनशीलता देखेर कम्पनीले उसलाई छोटो समयमै 'सिनियर प्रोजेक्ट म्यानेजर' को पदमा पदोन्नति गर्यो।
आज उ अमेरिका छिरेको झन्डै एक दशक भइसकेको छ। अहिले गणेशसँग न्यूयोर्क नजिकै रहेको होबोकेन शहरमा आफ्नै सुन्दर घर छ, आँगनमा गाडी छ, र उसको परिवार ऊसँगै रमाइ रहेको छ। उसले नेपालमा रहेका आमाबुबालाई मात्र आर्थिक रूपमा सुखी बनाएको छैन, बरु नेपालमा सामाजिक कार्यहरूमा पनि उत्तिकै सहयोग गरिरहेको छ।
एक साँझ, आफ्नो घरको बार्दलीबाट अस्ताउदै गरेको सूर्यको किरणलाई हेर्दै गणेशले आफ्नो विगतलाई सम्झियो। उसले बुझ्यो कि अमेरिका त्यसै सपनाको देश बनेको होइन रहेछ। यो देश त ती करोडौँ आप्रवासीहरूको पसिना, आँसु र कडा परिश्रमले सिँचित रहेछ, जसले आफ्नो देश छोडेर यहाँ नयाँ जीवनको खोजीमा आए।
अमेरिकाले आजसम्म चाहे त्यो अमेरीकी आदिबासी होस या आप्रबासी कसैलाई पनि तयारी सुनको महल दिएको छैन; यसले त केवल एउटा खानी दिन्छ, जहाँ खन्ने र हिरा निकाल्ने काम मानिसको आफ्नै पसिनाको हो। गणेशको यो कथा केवल एउटा व्यक्तिको कथा होइन, यो अमेरिकामा रहेका हजारौँ नेपाली गणेशहरूको साझा कथा हो, जसले सुरुका दिनमा बर्बर आँसु र संघर्षको मूल्य चुकाए र अन्ततः सफलताको एउटा नयाँ इतिहास लेखे। हो, अमेरिका संघर्षको एउटा ठूलो महासागर हो, जो यसको गहिराइमा पुग्न सक्छ, उसका लागि यो आज पनि उत्तिकै सुन्दर 'सपनाको देश' बनिरहेको छ।
Comments
Post a Comment